निःशुल्क खोप दिएकोमा धन्यवाद छ सरकार


Mechikali

काभ्रे– धुलिखेल नगरपालिका– ७ की ६७ वर्षीया न्हुछेमायाँ श्रेष्ठ खुसी हुँदै स्वास्थ्य कार्यालय काभ्रेको परिसरमा रहेको धुलिखेल प्राथमिक उपचार केन्द्रमा पुगेर कोरोना बिरुद्धको खोप लगाउनुभयो । सरकारले निःशुल्क रुपमा खोप लगाउने ब्यवस्था गरेकोमा उहाँले सरकारलाई धन्यवाद प्रकट गर्नुभयो ।
‘कोरोना बिरुद्ध निःशुल्क खोप दिएर सरकारले धेरै राम्रो काम ग¥यो, जनता आफैँले पैसा तिरेर खोप लगाउने ब्यवस्था गरेको भए कमजोर आर्थिक अवस्था भएका जनतालाई धेरै मर्का पर्ने थियो निःशुल्क खोप लगाएर जनताको सेवा गरेकोमा सरकारलाई धेरै धेरै धन्यवाद छ’ श्रेष्ठले थप्नुभयो– ‘सरकारले हामी जस्ता जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप लगायो, हामी धेरै खुसी भएका छौँ’ उहाँले भन्नुभयो ।
धुलिखेल नगरपालिका–६ का गोविन्द श्रेष्ठ पनि कोरोना बिरुद्धको खोप लगाउनका लागि धुलिखेल प्राथमिक उपचार केन्द्रमा पुग्नुभयो । ‘सरकारले जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाएकोमा म धेरै खुसी छु’ उहाँले भन्नुभयो । उहाँले सरकारले सबै नागरिकहरुलाई सहज रुपमा खोप लगाउनुपर्ने बताउनुभयो । ‘सरकारले कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेको छ, सबै नागरिकहरु खोप लगाउन उत्साहित हुनुहुन्छ, सरकारले सबैलाई सहज रुपमा खोप लगाउनुपर्छ’ उहाँले थप्नुभयो । उहाँले खोप लगाउने विषयमा सबै नागरिक समक्ष सूचना प्रदान गर्नुपर्ने बताउनुभयो । ‘सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म विभिन्न देशहरुबाट खोप ल्याई जनतालाई लगाएर आफ्नो दायित्व पुरा गरेको छ’ गोविन्दले थप्नुभयो ।
न्हुछेमायाँ, गोविन्द श्रेष्ठ जस्तै खोप लगाउन पाएकोमा धुलिखेल नगरपालिका–७ की ६५ वर्षीया वेकुमायाँ श्रेष्ठ पनि खोप लगाउन पाएकोमा खुसी भएको बताउनुहुन्छ । ‘हामी जस्ता बृद्धबृद्धाहरुलाई खोप लगाइदिएर सरकारले राम्रो काम ग¥यो’ विकुमायाँले भन्नुभयो । धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिअहेव सन्दिप केसीले आईतबारबाट सुरु भएको खोप कार्यक्रममा नगरभित्रका जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमु्ख डा. नरेन्द्रकुमार झाले आईतबारदेखि ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुका लागि सुरु गरिएको खोप कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताउनुभयो । उहाँले जिल्लाको टुकुचा नाला र पनौतीका जनप्रतिनिधिहरुले जेष्ठ नागरिकका लागि ल्याउने र लैजानको लागि गाडीको ब्यवस्था समेत गरेको बताउनुभयो । उहाँले जिल्लाका १३ वटै स्थानीय तहमा खोपप्रति उत्साह देखिएको बताउनुभयो । कार्यालयले जिल्लाका १३ वटा स्थानीय तहमा रहेका २५ हजार ४७५ जना ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया



थप समाचारहरु