सामाजिक सुरक्षा भत्ता बाँड्न घर-घरमा नगर प्रमुख तिमल्सिना


Mechikali

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफैं नगरबासीको घरघरमा पुग्न थालेका छन् ।
नमोबुद्ध नगरपालिकाले अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । सोही क्रममा नगर प्रमुख तिमल्सिना आफैं विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन् । नगरका जेष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरुको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको घरघरमा पुगेको नगर प्रमुख तिमल्सिनाले बताए । अभियानको क्रममा उनले जेष्ठ तथा असक्त नागरिकको समस्या बुझ्नै उनीहरुका लागि नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा चासो समेत व्यक्त गरेका छन् । उनले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । उनले बिरामी भएर घरमै बसेकाहरुका लागि औषधीसमेत वितरण गरेका छन् ।
नगरप्रमुख तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरपालिकाले यस बर्ष विशेष कार्यक्रमहरु अघि सारेको पनि बताए । ‘यो बर्ष कान सुन्न नसक्ने एक सय जनाका लागि आवश्यक मेसिन र एक सय जना व्यक्तिका लागि दाँत राख्ने कार्यक्रम अघि सारेको छु’ नगर प्रमुख तिमल्सिनाले भने, ‘मोतियाविन्दुको समस्या भएका वृद्ध बाआमाका लागि यसअघि नै निःशुल्क शल्यक्रियाको व्यवस्था नगरपालिकाले मिलाएको छ ।’
नमोबुद्ध नगरपालिकाले अहिले गत आर्थिक बर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गरिरहेको हो । सम्वन्धीत बैंकका कर्मचारीसहित अशक्त व्यक्तिको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिँदैछ । यो अभियानअन्तर्गत हालसम्म बैंकसम्म जान नसक्ने वृद्धवृद्धा, अशक्त र दीर्घरोगी गरी ४६ जनाको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिएका छन् ।
नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना रहेका छन् । त्यसमध्ये मासिक ३ हजार रुपैयाँ भत्ता पाउने ७० बर्षमाथिका जेष्ठ नागरिक १ हजार ९ सय २ जना रहेका छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० बर्षमाथिका दलित जेष्ठ नागरिकको संख्या १ सय २१ रहेको छ ।
यस्तै २ हजार रुपैयाँ मासिक भत्ता पाउने जेष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा २ हजार रुपैयाँ नै भत्ता पाउने विधवा ५ सय २ जना रहेका छन् । यसैगरी मासिक ३ हजार रुपैयाँ भत्ता पाउने पूर्ण अपांगको संख्या ७१, मासिक १६ सय रुपैयाँ पाउने आंशिक अपांगको संख्या ७५ तथा मासिक ४ सय रुपैयाँ भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि ५ बर्षसम्मका)को संख्या २ सय २७ रहेको छ ।
नमोबुद्ध नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता विरण गर्न थालेको हो ।

प्रतिक्रिया



थप समाचारहरु