छेन्दु (चीन)-नेपाल र चीनका युवाबीच शैक्षिक, सांस्कृतिक तथा प्राविधिक अनुभव आदानप्रदान गर्ने उद्देश्यले चीनमा आयोजित दोस्रो नेपाल युवा अध्ययन शिविर ‘Dialogue Across the Himalayas’ सम्पन्न भएको छ।
सेप्टेम्बर ६ देखि १२ सम्म चीनको University of Electronic Science and Technology of China (UESTC) मा सञ्चालन भएको सातदिने कार्यक्रममा नेपालका काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी तथा प्रतिनिधिहरू सहभागी भएका थिए। काठमाडौं विश्वविद्यालयका तर्फबाट शिव थापा मगर सहभागी भएका थिए।
Pan-Himalayan Communication Research Center, School of Public Administration, UESTC को आयोजनामा भएको शिविरमा मुख्यतः कृत्रिम बौद्धिकता (AI), Artificial Intelligence Generated Content (AIGC), डिजिटल सञ्चार र भविष्यको मिडियाका विषयमा केन्द्रित रहेर छलफल तथा व्यावहारिक गतिविधि सञ्चालन गरिएको थियो।
कार्यक्रममा सहभागी नेपाली युवाले सञ्चार तथा मिडियामा AI को बढ्दो प्रयोग, डिजिटल सामग्री उत्पादनमा यसको भूमिका तथा आगामी दिनमा प्रविधिले सञ्चार क्षेत्रमा ल्याउन सक्ने परिवर्तनबारे जानकारी लिएका थिए। विभिन्न कार्यशाला तथा प्रयोगात्मक गतिविधिले सहभागीलाई प्रविधिको सैद्धान्तिक ज्ञानसँगै त्यसको व्यवहारिक प्रयोग बुझ्ने अवसर प्रदान गरेको थियो।
अध्ययन शिविरका क्रममा सहभागीहरूले चीनको प्रविधि तथा विकाससँग सम्बन्धित विभिन्न क्षेत्रको समेत अवलोकन गरेका थिए। Panda Park, Tianfu New Area लगायतका स्थानको भ्रमणसँगै डिजिटल तथा प्रविधिमैत्री केन्द्रहरूको अवलोकन गरिएको थियो। त्यस्तै, Sichuan University of Media and Communication (SUMC) मा रहेको VR/SR प्रयोगशालाको भ्रमणमार्फत सञ्चार, मिडिया र immersive technology को प्रयोगबारे जानकारी लिइएको थियो।
कार्यक्रमले अध्ययन र प्रविधिको विषयसँगै नेपाल–चीनबीचको सांस्कृतिक तथा मानवीय सम्बन्धलाई समेत प्राथमिकता दिएको सहभागीहरूले बताएका छन्। चिनियाँ विद्यार्थी तथा युवासँगको अन्तरक्रिया, सांस्कृतिक आदानप्रदान र संयुक्त गतिविधिले दुई देशका युवाबीच आपसी बुझाइ र मित्रता विस्तार गर्न सहयोग पुगेको उनीहरूको अनुभव छ।
सहभागीहरूका अनुसार सात दिनको कार्यक्रम छोटो भए पनि यस अवधिमा प्राप्त ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय मित्रता दीर्घकालसम्म उपयोगी रहनेछ। विशेषगरी चीनको तीव्र प्रविधि विकास, डिजिटल सञ्चारको प्रयोग र शैक्षिक वातावरणलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसरले अध्ययन तथा व्यावसायिक यात्रामा नयाँ दृष्टिकोण थपेको उनीहरूको भनाइ छ।
कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहभागीहरूले Prof. Zan Xun सहित UESTC को आयोजक टोलीप्रति आभार व्यक्त गरेका छन्। आयोजक टोलीको आतिथ्यता, सहजीकरण र निरन्तर मार्गदर्शनले नेपालबाट सहभागी युवालाई अध्ययन तथा भ्रमणका गतिविधिमा सहज वातावरण मिलेको बताइएको छ।
सहभागीहरूका लागि यो कार्यक्रम केवल अध्ययन शिविरमा सहभागितामात्र नभई दुई देशका युवाबीच प्रत्यक्ष सम्बन्ध निर्माण गर्ने अवसरसमेत बनेको छ। हिमालयको दुईतर्फ रहेका नेपाल र चीनका नयाँ पुस्ताबीच संवाद, सहकार्य र अनुभव आदानप्रदान बढाउँदै लैजान यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
‘Dialogue Across the Himalayas’ ले AI र डिजिटल सञ्चारजस्ता समसामयिक विषयमा ज्ञान आदानप्रदानसँगै नेपाल–चीन युवा सम्बन्धलाई थप नजिक ल्याउने एउटा महत्वपूर्ण मञ्चको रूपमा आफ्नो उपस्थिति जनाएको छ।