काभ्रे — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि काठमाडौं विश्वविद्यालयले ८५ लाख रुपैयाँ सहयोग गरेको छ।
विश्वविद्यालयले कार्यकारी परिषद्को निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। विश्वविद्यालयका Academia–Industry Cooperation विभाग प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सशमित पोखरेललाई ८५ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो।
बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
रकम हस्तान्तरण गर्दै लामाले विपद्का बेला प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। कठिन परिस्थितिमा पीडित नागरिकसँग विश्वविद्यालयको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उहाँले मानवीय सहयोगलाई संस्थाको सामाजिक दायित्वका रूपमा लिएको बताउनुभयो।
काठमाडौं विश्वविद्यालयले शिक्षा र अनुसन्धानसँगै विपद् तथा संकटका समयमा मानवीय सहायता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ।
विश्वविद्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको ८५ लाख रुपैयाँले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।