काठमाडौं-नेप्लिज् सोसाइटी अफ कम्युनिटी मेडिसिन (NESCOM) तथा युरोपेली आयोगद्वारा वित्तीय सहयोग प्राप्त RISK-E-SCAPE परियोजनाको सहकार्यमा “International Conference on Climate, Disaster and Health: Evidence, Innovation and Resilience” आयोजना हुने भएको छ।
सम्मेलन सन् २०२६ सेप्टेम्बर १५ र १६ गते काठमाडौंस्थित पार्क भिलेज रिसोर्टमा आयोजना हुनेछ। सम्मेलनमा जलवायु परिवर्तन, विपद् तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता, प्राध्यापक, जनस्वास्थ्यकर्मी, नीति निर्माता, स्वास्थ्यकर्मी, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहनेछ।
जलवायु परिवर्तन, वातावरणीय चुनौती तथा बढ्दो विपद्का जोखिमले जनस्वास्थ्यमा थप जटिल चुनौतीहरू सिर्जना गरिरहेका छन्। यस्ता चुनौतीको सामना गर्न प्रमाणमा आधारित अभ्यास, नवीन सोच, सहकार्य तथा स्वास्थ्य प्रणाली र समुदायको तयारी एवं उत्थानशीलता (resilience) सुदृढ गर्न आवश्यक छ। यही सन्दर्भमा सम्मेलनले जलवायु, विपद् र स्वास्थ्यबीचको सम्बन्ध तथा त्यसबाट सिर्जित चुनौतीहरूबारे ज्ञान, अनुभव र नवीन अभ्यास आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।
RISK-E-SCAPE परियोजनाबारे
“Improving Disaster Health and Climate Resilience at the Expanded Environmental Crisis in Nepal and Bangladesh” नामक RISK-E-SCAPE परियोजना युरोपेली आयोगद्वारा वित्तीय सहयोग प्राप्त Erasmus+ Capacity Building in Higher Education परियोजना हो।
यस परियोजनामा ग्रीस, पोर्चुगल, इटाली, नेपाल र बंगलादेशका साझेदार संस्थाहरूको सहकार्य रहेको छ। परियोजनाको संयोजन University of Athens, Greece ले गरिरहेको छ भने Fernando Pessoa University र Fernando Pessoa School of Health, Portugal; University of Salerno, Italy; Pokhara University र Kathmandu University, Nepal; तथा Independent University of Bangladesh र University of Dhaka, Bangladesh परियोजनाका साझेदार संस्थाहरू रहेका छन्। साथै, Doctors of the World, Greece र Global Mental Health Lab at Teachers College, Columbia University, USA सहकार्यकारी साझेदारका रूपमा रहेका छन्।
परियोजनाले प्रमाणमा आधारित अनुसन्धान, पाठ्यक्रम विकास, क्षमता अभिवृद्धि, तालिम, व्यावहारिक अभ्यास, संस्थागत सहकार्य तथा ज्ञान आदानप्रदानजस्ता गतिविधिमार्फत उच्च शिक्षा संस्थाहरू तथा तिनका सम्बन्धित सञ्जालहरूको विपद् तयारी, प्रतिकार्य तथा पुनर्स्थापना क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ।
(Evidence, Innovation and Resilience) “प्रमाण, नवप्रवर्तन र उत्थानशीलता” मा केन्द्रित सम्मेलन
जलवायु, विपद् तथा स्वास्थ्यसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनले प्रमाण, अभ्यास र नवीन सोचलाई एकै ठाउँमा जोड्ने अवसर प्रदान गर्नेछ।
सम्मेलनमा जलवायु परिवर्तन तथा विपद्का कारण स्वास्थ्य क्षेत्रमा देखापर्ने उदीयमान चुनौतीहरू, तिनको सामना गर्ने नवीन उपायहरू तथा उत्थानशील स्वास्थ्य प्रणाली र समुदाय निर्माणका लागि आवश्यक बहुआयामिक तथा बहुक्षेत्रीय सहकार्यबारे छलफल हुनेछ।
यस सम्मेलनले RISK-E-SCAPE जस्ता पहलबाट प्राप्त अनुभव तथा सिकाइहरू आदानप्रदान गर्नुका साथै विपद् स्वास्थ्य, जलवायु उत्थानशीलता तथा जनस्वास्थ्यका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्ने अवसरसमेत प्रदान गर्नेछ।
सम्मेलनले जलवायु, विपद् र स्वास्थ्यका क्षेत्रमा प्रमाण, नवीनता तथा उत्थानशीलतालाई प्रवर्द्धन गर्दै स्वस्थ र विपद् उत्थानशील समुदाय तथा स्वास्थ्य प्रणाली निर्माणका लागि ज्ञान र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।