कला, संस्कृति, मौलिकता र मर्म हराउँदै गएको आधुनिक तीज


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

समाज यत्तिकै विकास भएको छैन । जंगली ढुंगेयुगबाट उठ्न पुगेको मानव सभ्यताको इतिहास निकै लामो छ । ब्यक्तिगत र लावारिसे जीवनबाट सामूहिक जीवनमा प्रवेश भएसंगैं मानिसहरुको व्यवस्तता एकपछि अर्को गर्दै वढिरहेको छ । तुलना गरेर हेर्दा एलेको तुलनामा हजुरआमाहरुको पालामा कामको निकै चाप हुन्थ्यो । तीज आउने वर्षाको समय र लगत्तैपछि आउने ठूला पर्वहरु दशैं र तिहारको जोहोसंगै जोडिने घाँस दउरा, मेलापात, अर्मपर्म जस्ता कुराहरुले गाउँघरमा निकै ब्यस्तता देखिन्थ्यो । दिनमा कामले नभ्याएर रातीमा सबैको घरमा पालैपालो जम्मा भएर थपडीको तालमा सुख दुःखका गीत गाएर नाच्ने गर्नुहुन्थ्यो । हामी पनि गाउँगाउँमा खुबै हिँड्थ्यौं । प्रत्येक गीतमा मर्म र भावना सहितको कथा हुन्थ्यो, त्यसको जीवनरुपी अर्थपनि । केटाकेटी भएकोले हामीले सबै कुराचाहिं राम्ररी बुझ्दैनथ्यौं । नबुझ्द ानबुझ्दै रमाइलो भने निक्कै लाग्ने गर्दथ्यो ।

बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व भएकोले आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरी चेलीलाई भेट्ने र सकेसम्म माइती फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । 

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नहुँदा एकदिन भए पनि मीठो मसिनो ख्वाउन माइती पक्षकाहरु लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौँ अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्वको व्यग्र प्रतीक्षामा हुन्थे ।

फालाफाल र वालछ्याल नहुने । दर खाने तिथीकै दिन दर खाने कुराले तीजको महत्वलाई पौराणिक हिसाबमै दर्शाउने गर्दथ्यो । मध्य वर्षा र खेतीपातीको सिजन अझ मकै भाँचौं भाँचौं लाग्ने बेलाको ब्यस्ततामा आउने तीज भएरपनि होला त्यति बेला न चेलीले ऐलेको जस्तो १ महिना अगाडीदेखि माइति चाहर्ने आशा राख्दथे न त माइती लिनै जाने गर्दथे । 

नेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । विदेशमा रहेका नेपाली महिलाहरूले समेत यो चाड मनाउन थालेका छन् । तीजमा महिलाहरूले उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । यसरी हेर्दा हिन्दु धर्मले महिलालाई पुरुषको अन्धभक्त वा पुरुषभक्त बनाउन खोजेको देखिन्छ । त्यसैले प्रगतिशील तथा क्रान्तिकारी महिलाहरूले यसको विरोध पनि गर्दै आइरहेका छन् । 

यत्तिमा सिमित नभएर आजकाल विकृति नमज्जासंग वढिरहेको छ । आद्युनिक युगका मानिसहरु मात्र नभएर वुढेसकाल लागेका आमा, दिदी, भाउजुहरुले समेत १ महिना अघिदेखि शुरु गरेको दरखाने कार्यक्रम नेपाली मौलिकता भित्र पर्दैन । पर्छ त त्यो चाड पर्वका नामको भड्काउलो पश्चिमा संस्कृति प्रतिको मोह । 

त्यति मात्र नभएर प्रकृतिस्रंगपनि तीजको छुट्टै खालको महत्व र सम्वन्ध रहेको छ । सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विकृति, विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौँ हजार वर्षदेखि यो चाड मनाइँदै आएको हो । हामी माता पार्वतीलाई नारी जातिको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन गर्दछौं ।

हाम्रो वैदिक दर्शनले स्त्रीलाई धर्तीमात्र नभएर सिंगो प्रकृति मानेको छ । यसर्थ तीजको सम्बन्ध प्रकृति तत्वसँग छ । एक प्रकारले प्रकृतिको सम्मान, महत्व र सामीप्यतालाई यो चाडले आत्मसात् गरेको छ । तात्विक रूपमा प्रकृति अर्थात धर्ती र पुरुष अर्थात आत्मा तत्वको मिलनको चाड हो तीज । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै हाम्रा मौलिक दर्शनहरुले ब्रह्मा मानेका छन् । 

यति र यसो हुँदाहुँदै नेपालको तीजमा पश्चिमेली शैली मज्जैले भित्रिन थालेको देख्न सकिन्छ । पहिले चुल्हो चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे । अहिले त टोल टोलमा समूह बनाएर एक महिना अघिदेखि नै नाचगान र खानपिनका कार्यक्रम गरिन्छ । खाइख्वाइमा मात्रपनि सिमित छैन । वाइन र हुइस्किका बोतलहरु नेपाली देवीहरुको हातमा, मोवाइलमा, फेसबुकमा, स्टाग्राममा र टिकटकहरुमा देख्न सकिन्छ । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो रुपमा प्रस्तुत गरिरहेको छ । हिजोआज तीजको रमझममा पनि पश्चिमा शैली अघुलनशिल तरिकाले मिसिन थालेको देखिन्छ । फलस्वरूप मौलिकता हराउन थालेको छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । 

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आर्थिक भार बढिरहेको छ भने गरिबहरुमा पर्व कसरी मनाउने भन्ने प्रतिस्पर्धात्मक  चिन्ता पनि थपिदैछ । यो निकै नराम्रो पक्ष हो ।

सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ ।  त्यसैले यसलाई संरक्षण र सम्वद्र्धन गर्दै अगाडि बढ्नुपर्ने आजको पुस्ताको जिम्मेवारी र दायित्व हो ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँमा पनि मनाइन्छ ।

खासमा मौलिकता, महिमा र आद्युनिकता मानिसको लागि नभइ नहुने र संगसंगै लग्नु पर्ने सँदर्भ हो । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यो चाडमा माइतीका बाबुआमा, दाजुभाइ छोरी र चेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँछने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ ।

धार्मिक पृष्ठभुमिका हिसाबले पनि तीजको छुट्टै खालको महत्व रहँदै आएको छ । हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।

तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।

ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ ।

आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तीज पर्वलाई हरितालिका तीज भनिन्छ ।

त्यसै गरी तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । बर्सभरि जान अनजानमा भए गरेका गल्तीबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । लेपनले छालामा हुने एलर्जी हटाउँछ र दतिवनले दाँत र मुखलाई सफा राखी स्वास्थ्यको सुरक्षा गर्छ । 

उक्त दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए, आपसी आत्मीयता एवं सद्भाव बढ्ने धार्मिक विश्वास छ । 

तीज आफैमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत गरेको भए पनि फलफूल ग्रहण गरेर दिनभरि व्रत बस्नमा वैज्ञानिक हिसाबले फलदायक नै देखिन्छ । तीजको दिन नारीहरूले टीका, कपडा, चुरा, पोते आदि सबै रातै रंगमा सजिनु यसको विशेषता हो । नारीहरू त्यो दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमान्को दीर्घायुको कामना गर्नु नै यस तीज पर्वको सन्देश मानिन्छ ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ  । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकाङ्क्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ । 

तीजको दिन घरको कामकाज चटक्कै छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुरा समेटिएका हुन्छन् । यसले महिलालाई सशक्त बनाउँछ । यी तीजको सकारात्मक पक्ष हुन् । 

विद्युतीय उपकरण र साधन नहुँदा महिलाहरू समूहमा भेला भई डम्फु, मादल, थपडी र मुर्चुङ्गामा नजिकैको मन्दिर, स्कुल, चौपारी वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँथे । गाउँथे, नाच्थे । भने अहिले त मोबाइल, रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । 

भड्काउ र भड्किलो पनलाई सबै लागेर बेलैमा नियन्त्रण नगर्ने हो भने टुप्पीभन्दा माथी रौं हुन्न भने झैं नेपालको मौलिकता बोकेको तीजको महिमा, महत्व र पौराणिकता पूर्णरुपमा समाप्त हुने छ । तीज सुन्दै छाडा, विकृत, भड्किलो संस्कृति, पार्टी प्यालेशहरुको कार्यक्रम भनेर बुझ्ने अवस्थाको सिर्जना हुने छ । यसले तीजको महत्वलाई पूर्णरुपमा भ्रमित बनाएर सकउने छ ।


प्रतिक्रिया



थप समाचारहरु