-जगन्नाथ न्यौपाने
मेरा बा मलाई अति नै प्यारा हुनुहुन्थ्यो। उहाँले मेरा लागि कासको सुपारी खोजेर ल्याइदिनुहुन्थ्यो। उहाँले मलाई माया गर्नुहुन्थ्यो कि गाली गर्नुहुन्थ्यो, मलाई थाहा थिएन। तर जब म काम बिगार्थें, उहाँ रिसाउनुहुन्थ्यो। जब घरमा ढिलो पुग्थें र म सुतिसकेको हुन्थें, उहाँ "कान्छो सुतिस्?" भन्दै मेरो निद्रा बिगारेर निधार छाम्नुहुन्थ्यो। मलाई धेरै रिस उठ्थ्यो।
स्कूल नजाँदा उहाँले पिट्नुहुन्थ्यो। थाहा छैन किन, तर मलाई पिट्दा उहाँलाई खुसी लाग्थ्यो जस्तो हुन्थ्यो। म लड्दा पनि माया गर्नुको सट्टा गाली गर्नुहुन्थ्यो। "अब लडिस् भने खुट्टा भाँच्छु," भन्नुहुन्थ्यो। उहाँ सधैं एउटा वाक्य दोहोर्याउनुहुन्थ्यो, "अरूलाई खुशी बनाउन सधैं प्रयास गर्नुपर्छ, हामीले सकेको समाजका लागि गर्नुपर्छ।" तर मलाई बा निरङ्कुश जस्ता लाग्थे। सधैं "ठूलो मान्छे बन्नुपर्छ" भन्दै अनुशासनमा राख्नुहुन्थ्यो। "यो संसार तँलाई रिसाउने सबैले बैरी भनून्, तर सत्य र न्यायको कुरा कहिल्यै छोड्नुहुन्न," भन्नुहुन्थ्यो।
पछि मैले बुझें, उहाँ निरङ्कुश होइन, मेरो उज्ज्वल भविष्य र मेरो चिन्ताका लागि यो संसारमा भगवानको अवतार भएर आउनुभएको रहेछ। मेरा बाले मेरो लागि यति धेरै सोच्नुभयो कि बुढेसकालमा मैले उहाँको स्याहार गर्न नपरोस् भनेर बेलैमा यो संसार छोडेर जानुभयो। तैपनि मलाई बासँग गुनासो छ, उहाँले मलाई सानैमा छोडेर जानुभयो। सायद यो पनि उहाँको चाहना थियो कि म सानैमा जिम्मेवार बनूँ। अरूले जस्तै बुढेसकालमा बाको हेला गरेर पाप नकमाऊँ भनेर उहाँले जवानीमै यो संसारबाट बिदा लिनुभयो र मलाई पापबाट जोगाउनुभयो।
साथीहरू, हाम्रा बाबालाई आदर गरौँ, उहाँलाई आश्रममा होइन, मन्दिरमा राखेर पूजा गरौँ। धेरै कुरा त म लेख्न सक्दिनँ, किनभने बाबाको बारेमा लेख्दा आँखाबाट आँसु बग्छ। तर एउटा कुरा भन्छु, बाले हाम्रा लागि संसारका सबै सुख त्याग गर्नुभयो। अब हाम्रो पालो छ, कम्तीमा बाबा हुँदै उहाँका जीवनका सार्थक वाणीहरूबाट लाभ लिऔँ।
बाबाको काँधमा पिसाब फेरेर हुर्केका हामीले बाबालाई कम्तीमा दिनको १५ मिनेट समय दिऔँ। बाबा साँच्चै अमर देवता हुनुहुन्छ। उहाँले हाम्रो जीवनमा लगाएको निःस्वार्थ ऋणको ५% मात्र तिर्न सक्यौँ भने पनि हाम्रो जीवन सार्थक हुनेछ।