उनी गैसकिन् नि,
एकान्त निदरिमै, सवेरै आज मिर्मिरेमै,
रात काट्दै गर्दा उनी सपना देख्दै थिइन्,
खै! यसरीनै छोडी जान्छिन् सोचेको थिएन।
"काका आइयो ?"
"एक्लै पो देख्छु त,"
"म त एक्लै पो आएँ हौ केटा,"
"तेरो काकीले पनि छोडेर गैहाली,"
"सम्हाल्नु पर्ने रहेछ है काका,"
"तपाईं त आफै कवि जस्तो मान्छे,"
"म त सम्झाउन जान्दिन नि,"
"सम्हाल्नै त पर्ने रहेछ,"
अझै छ छ जुनि जिउनै बाँकी छ,
---------------
तलाई थाहा छ?
तलाई थाहा छ?
उनी बसी रहेको चिता मुस्लो बनी आकाशमा उडि रहँदा,
उनी सुस्केरा लुकाइरहेकी थिइन्,
सबै आफ्नो घर फर्किरहेथ्ये,
आफ्नो त घर नि उजाडिएको छ,
जाने घर नै खरानी भएको छ,
यही जलेको घरको थोरै अस्तुपोको परेर खाटमा तासिएको छ अब,
यसलाई सिलाउन मात्र त बाँकी छ,
म फेरि फर्केर...
म फेरि फर्केर त्यो घर कसरी जानु ?
उनका यादहरू, उनको बसेको बास चारैतिर जो फैलिएको छ,
फेरि कसरी हेर्न सकुँला र म त्यही बिहे गरेकाे सालको मुस्कुराइरहेको रङहीन तस्वीर,
त्यही ढोकामाथि,
उनले पोतेका ती आँगनका रातो माटाले पनि हरेक बिहान मिर्मिरेमै खोज्छन् होला,
तीनलाई "कहाँ गई?" भन्नु,
हरेक बिहान, हरेक साँझ,
चुलोले उनको हात खोजिरहँदा यो आगो मेरै हातबाट सल्किन मन लाग्छ र?
उनैले नै सिहार-सुसार गरेका गाई–बस्तुले पनि उनको सट्टा के मलाई नै छान्लान् र?
उनी बिना त,
उनी बिना त घर पनि घर लाग्दैन हौ,
म एक्लै गुजुल्टिएर सुत्दा उनको बस्नाले भरिएको ओछ्यान नि के एक्लै तत्ला र?
प्रश्नहरू त त्येति सोध्दैनथ्ये आफूलाई तर...
खै किन!
आज यही प्रश्नहरूले आफ्नो मन जलाइरहेको छ,
तर अब सवेरै उनले बनाएको जस्तो चिया,
रङ कम अनि चिनी कडा — कहाँबाट पाउँछु र?
मेरा लागि नै भनी गुलाबी सारी अनि कालो टिका लगाउने गर्थिन्,
"कस्तो देखिएको छ?" भनी वाक्क बनाउँथिन्,
तर,
अब मेरै लागि भनी मेरो नामको सिन्दूर लगाउनेले घर छोडेर गएपछि त,
स्मृतिमा मात्र सीमित हुने रहेछन्,
उनी त सपनमा हरेक रात आउँछिन्,
साँचै,
साँचै मृत्यु पनि किन यति सुन्दर भएको होला,
जो गएका छन् ती कहिल्यै फर्किएनन्,
छोडेर जानेहरूलाई "फर्किन", भन्दा फर्किने भए,
म एस्सै बस्थेँ त,
पक्कै उनलाई नै पुकारि बस्थेँ नि,
आजकल त आश पनि मर्यो,
अब त आकाशमा देखिने यो चम्किलो तारा पनि "उनी नै हो कि?" भनी हेर्दै बस्छु,
आजकल त आश पनि मर्यो,
अब त आकाशमा देखिने यो चम्किलो तारा पनि "उनी नै हो कि?" भनी हेर्दै बस्छु..."