गङ्गा खड्काको कविता सङ्ग्रह ‘यादका बाछिटा’ लोकार्पण


मेचीकाली

काठमाडौँ– गङ्गा खड्काद्धारा लिखित कविताहरुको सङ्ग्रह ‘यादका बाछिटा’ लोकार्पण भएको छ । शनिवार एक कार्यक्रमकाबीच बरिष्ठ कवि तुलसी दिवसलगायतका कवि तथा समाजसेवीहरुले एक साथ कविता सङ्ग्रहको लोर्कापण गर्नुभएको हो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको कविता सङ्ग्रहमा बा, परमेशबाट देखेको घरदेश, कुमारी आमा, पे्रम दिवस, सुखानुभूतिका यात्रा, हराएकी प्रेमिका, मेरो गाउँ, झझल्कोमा आमा, मकै पोल्ने दिदी, प्रेम र जात, जात नचिन्ने प्रेम, किनबेचको लहर, स्वाभिमानको गीतलगायतका ६४ वटा कविता समावेश गरिएका छन् । खड्काद्धारा रचित कवितामा माया प्रेम, समाजभित्रको विकृतीलगायतका विषयलाई कविताको रुपमा चित्रण गरिएको छ । 

खड्काले आमा नानीमैया खड्का, सासु हिरादेवी खड्का, ससुरा डम्बर बहादुर खड्का र दाजु श्रवणकुमार खड्काप्रति समर्पित गर्दै कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो । कविता लोकार्पण समारोहमा बरिष्ठ कवि तुलसी दिवसले गङ्गा खड्काद्धारा लिखित कविताहरु उत्कृष्ट रहेको बताउनुभयो । उहाँले खड्काले प्रकाशन गरेको पहिलो कविता सङ्ग्रहभित्रका कविताहरु माझिएको बताउनुभयो । खड्काले रचना गरेको कविताले आफ्नो नीजि जीवनलाई छोएको, महिला र पुरुषबीचको प्रेम मात्रै नभई सबैसँगको प्रेम, देशकाल परिस्थिती, मौलिकता, शब्द छनौट समेत मौलिक र नेपालीपन भएको बताउनुभयो । उहाँले कविता लेखनबाट पनि आफु र आफ्नो देशलाई विश्वमा चिनाउन सकिने बताउँदै कवि दिवसले कविता लेखको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

कार्यक्रममा समालोचक तथा कवि डा. गीता त्रिपाठीले खड्काद्धारा रचित कविताहरु सुन्दर रहेको बताउँदै लेखकले जीवनका हरेक कुरालाई कवितामा प्रस्तुत गरेको बताउनुभयो । उहाँले लेखकले आठ वर्षमा रचना गरेका कवितलाई सङ्ग्रहको रुपमा प्रकाशन गरेको बताउँदै सङ्ग्रह भित्र रहेका सबै कविताका शब्द र भाव समेत उत्कृष्ट रहेको बताउनुभयो । कार्यक्रममा कवि हेम प्रभास, सिमल बुक पब्लिकेशनका सञ्चालक कमल ढकाल, लेखकका बुबा शेरबहादुर खड्काले शुभकामना दिनुभएको थियो । कार्यक्रममा कविता सङ्ग्रहकी लेखक गङ्गा खड्काले साहित्यीक फाँटमा एउटा विरुवा रोप्ने प्रयास स्वरुप कविता सङ्ग्रह प्रकाशन गरेको बताउनुभयो । उहाँले घर, परिवार र आफन्त तथा शुभचिन्तकको मायाले कविता रचना तथा सङ्ग्रह निकाल्न प्रेरणा मिलेको बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु