काभ्रेमा सुधार हुँदै घरजग्गाको कारोबार, दीगो होला त?


मेचीकाली

काभ्रे–केही वर्ष भइसक्यो देशैभर घरजग्गाको कारोबारमा मन्दी छाएको । कोरोना संकटदेखि नै सुस्ताएको घरजग्गाको कारोबार सरकारले ल्याएको कित्ताकाट सम्वन्धी नियमका कारण झनै थला परेको थियो ।

अहिले पनि घरजग्गा कारोबारमा केही सुधार देखिएको छ । काभ्रेमा पनि कारोबारमा सुधारका संकेत देखिएको पाइएको छ । यद्यपि यो दीर्घकालिन हुन्छ या हुन्न भन्ने अनुमान भने गर्नसक्ने अवस्था छैन ।

मालपोत कार्यालय काभ्रेको पछिल्लो ५ महिनाको तथ्यांकले गत वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्ष घर, जग्गा कारोबार बढेको देखाएको छ । मालपोत कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा सात हजार १०३ वटा लिखत पास भएको जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म कार्यालयबाट राजिनामा पास तीन हजार ५१४ वटा, बकसपत्र नाताभित्र ३५० वटा, अंशबण्डा १२५ वटा, अंश भरपाई ८८ वटा, बैङ्क दृटि दुई हजार ७९७ वटा लिखत पास भएको जनाएको छ ।

 यस्तै व्यक्ति दृष्टिका ६८ वटा, सट्टापट्टाका पाँच वटा, सगोलनामाका ३२ वटा, छाडपत्र ४५ वटा शेषपछिको बकसपत्र नाताभित्र २९ वटा, शेषपछिको बकसपत्र नाता बाहिर छ वटा, दर्ता फारी ४३ वटा र दान पत्रको एउटा लिखत पास भएको कार्यालयले जनाएको छ । पाँच वर्षको अवधिमा जिल्लाको नगर क्षेत्रभित्र छ हजार ४१९ वटा र ग्रामिण क्षेत्रभित्रका ६८४ वटा लिखत पास भएको हो । 

कार्यालयले पाँच महिनाको अवधिमा भएको लिखत पासबाट २० करोड ६३ लाख ४० हजार ४६४ रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख मालपोत अधिकृत दिपक कोईरालाले गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनाको अवधिमा घरजग्गा कारोबारमा केही सुधार भएको बताए । उनले भु–उपयोग नियमावली २०७९ पहिलो संसोधनले विगतामा भएको १३० वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट हुने व्यवस्थालाई संसोधन गरेर अंश र मोहि बाँडफाँड र अदालतको फैसलाको हकमा जति भएपनि जग्गा बाड्न पाइने व्यवस्था गरेपछि कारोबारमा केही सहज भएको बताए ।

कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म कार्यालयबाट राजिनामा पासका दुई ९४० वटा, बकसपत्र नाताभित्र २३० वटा, बैङ्क दृष्टि दुई हजार २८५ गरी कुल पाँच हजार ७२७ वटा लिखत पास भएको थियो । उक्त पाँच महिनाको अवधिमा कार्यालयले १८ करोड २४ लाख ५६ हजार ८३८ रुपियाँ राजस्व सङ्कलन गरेको थियो । 


प्रतिक्रिया



थप समाचारहरु