काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा देखियो आँखा पाक्ने रोग


मेचीकाली

काभ्रेपलाञ्चोक– देशका अन्य जिल्लाहरुमा जस्तै काभ्रेपलाञ्चोक जिल्लामा पनि आँखा पाक्ने रोग (कन्जक्टिभाइटिस) रोगका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो एक सातादेखि जिल्लामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढेसँगै जिल्लामा रहेका अस्पतालहरुमा आँखाको उपचारका लागि आउने बिरामीको सङ्ख्या समेत बढेको अस्पतालहरुले जनाएका छन् । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले पछिल्लो एक सातादेखि जिल्लामा आँखा पाक्ने बिरामीहरु बढेको बताउनुभयो । “एक सातादेखि जिल्लाका १३ वटा पालिकामध्ये दश वटा पालिकामा यो रोगका बिरामी फेला परेका छन्, विशेष गरी धेरै बिद्यार्थी भएका बिद्यालयका बिद्यार्थी र शिक्षकहरुमा यो समस्या देखिएको छ” उहाँले बताउनुभयो ।

उहाँले एक साताअघि तराईबाट यहाँ आएका एउटा परिवारका सदस्यमा आँखा पाक्ने रोग देखिएपछि उक्त रोगका बिरामीहरुको पहिचान भएको बताउनुभयो । डा. सेढाईले जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा आँखा पाक्ने रोगका बिरामीको पहिचान नभएको बताउनुभयो । उहाँले आँखा पाक्ने रोग फैलन नदिनका लागि नागरिकहरुमा जनचेतना जगाउनुपर्ने तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालका मेडिकल निर्देशक डा. रुची श्रेष्ठले अस्पतालमा पछिल्लो एक साताबाट आँखा पाक्ने रोगका बिरामीको चाप बढेको बताउनुभयो । “अघिल्लो सातामा अस्पतालको ओपिडीमा आउने बिरामीमध्ये करिब १० प्रतिशतमा आँखा पाक्ने रोगको समस्या थियो भने बिहिबार र शुक्रबार ओपिडीमा आएका मध्ये करिब २५ प्रतिशतमा आँखा पाक्ने समस्या पाइएको छ” डा. श्रेष्ठले बताउनुभयो । उहाँले अस्पतालमा आएका बिरामीमा आँखा रातो हुने, आँखाको डिल सुन्निने, चिप्रा आउने, आँखा चिलाउने, आँसु बग्ने समस्या देखिएको बताउनुभयो । उहाँले गत शुक्रबार एउटा बिद्यालयका ३५ जना बिद्यार्थीमा उक्त समस्या देखिएर उपचारका लागि आएको बताउनुभयो । उहाँले बिद्यालयमा धेरै बिद्यार्थीबीच भेटघाट हुने भएकोले बिद्यालयमा आँखा पाक्ने रोग सर्ने जोखिम र बिद्यार्थीबाट उनीहरुका परिवारका सदस्यमा सर्ने जोखिम रहेको बताउनुभयो ।
धुलिखेल अस्पतालकी नेत्र रोग विशेषज्ञ एन्जिरा श्रेष्ठले अस्पतालमा धुलिखेल, बनेपा, पनौतीलगायतका क्षेत्रबाट आँखा पाक्ने रोगका बिरामीहरु उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँले अस्पतालको नेत्र रोगको ओपिडीमा आउने बिरामीमध्ये दैनिक करिब ३० जनामा आँखा पाक्ने रोगको समस्या रहेको बताउनुभयो । उहाँले अस्पतालमा आँखाका बिरामीको चाप बढेसँगै अस्पतालले आँखाको रोगका बिरामीलाई केहि दिन घरमा नै उपचार गरेर बस्न सुझाव दिएको डा. श्रेष्ठले बताउनुभयो । उहाँले बिद्यालय तथा अन्य भिडभाड हुने स्थानमा मानिसको जमघट हुँदा आँखा पाक्ने रोग फैलने सम्भावना बढी भएको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु