निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्धारा सेवा


मेचीकाली

काभ्रेपलाञ्चोक– स्वास्थ्यमा विभिन्न समस्या भई उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका बिरामीहरुलाई गाउँमा नै विशेषज्ञ चिकित्सकद्धारा उपचार सेवा प्रदान गर्ने उद्देश्यले जिल्लाको भुम्लु र रोशी गाउँपालिकामा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । भुम्लु गाउँपालिकाको आयोजना, सिङ्गापुर रेडक्रस, प्रारम्भ सामाजिक संस्थाको सहयोग तथा स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा शिविरको आयोजना गरिएको हो । सिङ्गापुर रेडक्रसको नेपाल प्रतिनिधि तथा प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्रीले विभिन्न स्वास्थ्य समस्या भई उपचारका लागि अस्पतालसम्म जान नसक्नु भएका बिरामीलाई लक्षित गर्दै गाउँमा विशेषज्ञ चिकित्सकद्धारा उपचार सेवा प्रदान गर्ने उद्देश्यले बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले शिविरमा स्त्री रोग, सामान्य चिकित्सा, हाडजोर्नी, अकंपञ्चर उपचार सेवा, मुटु रोगको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको बताउनुभयो ।
मङ्गलबार र बुधबार जिल्लाको भुम्लु गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा हाडजोर्नीका २४७ जना, स्त्रीरोग १३० जना, सामान्य चिकित्सा १९० जना, मुटु रोग ४१ जना र अकुपञ्चर १४५ गरी कुल ७५३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । यसैगरी बिहिबार र शुक्रबार जिल्लाको रोशी गाउँपालिका–९ मंगलटारमा भएको शिविरमा मुटु रोगका ५७ जना, स्त्रीरोगका ९९ जना, अकुपंचर १६७ जना, हाडजोर्नी सम्बन्धी २५७ जना र पाँच जनाको सामान्य शल्यक्रिया गरी कुल ७७८ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शिविरका संयोजक तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले बताउनुभयो । रोशीमा आयोजित शिविरमा निधारको खतको प्लाष्टिक सर्जरीका साथै जनाको कान, नाक, कोठीको सर्जरी समेत गरिएको बताउनुभयो । शिविरमा मुटु रोगसँग सम्बन्धित छ जना बिरामीको इको समेत गरिएको थियो । दुई गाउँपालिकामा भएको स्वास्थय शिविरमा नेपालका विभिन्न अस्पतालका विशेषज्ञ डाक्टरका साथै सिंगापुर रेडक्रसका चिकित्सकहरुले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए । सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाले एक महिनाअघि संस्थाले हुम्ला जिल्लाको सिमिकोटमा बृहत स्वास्थ्य शिविरको आयोजना गरी करिब चार हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु