एक लाख छयालिस हजार नागरिक स्वास्थ्य बिमामा आवद्ध


मेचीकाली

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लामा रहेका कुल नागरिकमध्ये चालिस प्रतिशत नागरिक नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा सरकारले अघि सारेको स्वास्थ्य बिमा कार्यक्रममा एक लाख ४६ हजार ७४ नागरिक आबद्ध भएको जनाएको छ ।
जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या तीन लाख ६४ हजार ३९ जना रहेका छन् । स्वास्थ्य बिमा बोर्ड काभ्रेपलाञ्चोकका दर्ता अधिकारी सरस्वती सिग्देल (लुईटेल) का अनुसार जिल्लामा ७० हजार ६१७ पुरुष र ७५ हजार चार सय महिला स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनु भएको बताउनुभयो । उहाँले जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा बढी र जिल्लाको खानीखोला गाउँपालिकामा सबैभन्दा कम नागरिक बिमा कार्यक्रममा आवद्ध भएको बताउनुभयो । जिल्लाको बनेपा नगरपालिकामा हालसम्म २९ हजार २६६ जना, धुलिखेल नगरपालिकामा २८ हजार नौ सय जना, पनौती नगरपालिकामा २४ हजार ७०१ जना, पाँचखाल नगरपालिकामा १७ हजार ५६२ जना र मण्डनदेउपुर नगरपालिकामा १३ हजार ४३३ नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसैगरी जिल्लाको नमोबुद्ध नगरपालिकामा नौ हजार २५३ जना, रोशी गाउँपालिकामा सात हजार ९०२ जना, तेमाल गाउँपालिकामा दुई हजार २९३ जना, महाभारत गाउँपालिकामा एक हजार ५१६ जना, चौरीदेउराली गाउँपालिकामा दुई हजार सात जना, भ्ुम्लु गाउँपालिकामा पाँच हजार ४९० जना, बेथानचोक गाउँपालिकामा दुई हजार ८५२ जना र खानीखोल गाउँपालिकामा ८९९ जना नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।
जिल्लामा बिमितहरुमध्ये आठ हजार ८७१ जना जेष्ठ नागरिक, एचआइभि सङ्क्रमित २१२ जना,  पूर्ण अपाङ्गता भएका तीन हजार ११३ जना, कुष्ठरोगी १५१ जना र कडा खालको क्षयरोग लागेका आठ जना र महिला स्वास्थ्य स्वयम्सेविका दुई हजार ६७३ जना रहेका छन् । सरकारले महिला स्वास्थ्य स्वयम्सेविकालाई बिमा गर्दा ५० प्रतिशत छुट, जेष्ठ नागरिकको निःशुल्क, पूर्ण अपाङ्गता, कुष्ठरोगी र एचआईभि सङ्क्रमितका परिवारलाई सबै बिमा रकम छुट गर्दै आएको छ । बिमा कार्यक्रमका लागि प्रत्येक वडामा एक जनाका दरले जिल्लाभरमा एक सय ३५ जना दर्ता सहयोगी रहेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा २०७६ भदौ २४ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम लागु भएको हो । जिल्लमा धुलिखेल अस्पताल, मेथिनकोट प्रादेशिक अस्पताल, रेयुकाई एईको मासुनागा आँखा अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा विमित व्यक्तिहरुले उपचार गराउन सक्नेछन् ।


प्रतिक्रिया



थप समाचारहरु