बनेपामा बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने


Mechikali

बनेपा– काभ्रेको बनेपामा बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल सितोरियो कराँते संघको संयोजन र काभ्रे कराँते एकेडेमीको आयोजनामा प्रतियोगिता आयोजना हुन लागेको हो । मङ्गलबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत १ र २ गते बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने जानकारी दिइएको हो । नेपाल सितोरियो कराँते संघ काभ्रेका अध्यक्ष प्रताप बैद्यले प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका १३ टिम र आयोजक टिमबाट एक गरी १४ टिमका २१० खेलाडीले प्रतियोगितामा भाग लिने बताए ।
उनले पुरुषतर्फ ८ उमेर समूह र महिलातर्फ ७ वटा उमेर समूहको प्रतिस्पर्धा हुने बताए । उनले प्रतियोगितामा उत्कृष्ट रहेका तीन खेलाडीलाई पुरस्कार स्वरुप ट्रफी, मेडलका साथै नगद रुपैँया समेत प्रदान गरिने बताए । उनले नगद पुरस्कारका लागि दुई लाख रुपैँया बजेट छुट्याइएको बताए । उनले प्रतियोगितामा सहभागि खेलाडी, प्रशिक्षकको खाना, बस्नको ब्यवस्था आयोजकले नै व्यहोर्ने बताए । उनले प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २२ लाख रुपैँया खर्च लाग्ने र उक्त रकम खेलप्रेमी व्यक्ति, संस्था तथा स्थानीय तहहरुसँग सहयोगको लागि कुरा भएको बताए ।
संघका महासचिव गौतम मानन्धरले प्रतियोगिताले कोभिड १९ का कारण सुस्त भएको खेलकुद गतिविधिलाई पुनः लयमा फर्काउने बताए । उनले प्रतियोगिता बनेपाको लायकु राजमञ्चमा हुने बताए ।

प्रतिक्रिया



थप समाचारहरु