'इन्डिया जाने' भन्दै घर छाडेका बनेपाका दुईजना कास्की पुगेर झुन्डिए !


मेचीकाली

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याउन सकिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । ‘हामीलाई शवबारे आइतबार राति खबर आएको थियो । हिजो प्रहरी घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि पोखरा ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएपी सुन्दर तिवारीले भने । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको डिएसपी तिवारीले जानकारी दिए । तर, भारत नगई पोखरा आएर कास्कीकै अन्नपूर्ण गाउँपालिका क्षेत्रका होटलमा बसेको खुलेको प्रहरीले जनाएको छ ।

‘असार १४ गतेसम्म उहाँहरु बसेको होटल भेटियो । त्यसपछि उहाँहरु कहाँ बस्नुभयो भन्ने जानकारी छैन,’ डिएसपी तिवारीले भने, ‘यसको मतलब यो घटना १६, १७ गतेको पनि हुन सक्छ । हामी ठ्याक्कै यति दिन पुरानो शव भन्न सक्दैनौं । तर सडे, गल्न थालेकोमा चाहिँ भेटेको हो ।’

source : onlinekhabar 

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग