छयासी प्रतिशत बालबालिकालाई कोभिड बिरुद्धको खोप


मेचीकाली

धुलिखेल- काभ्रेपलाचोक जिल्लामा रहेका ५ वर्षदेखि १२ वर्षमुनिका ८६ प्रतिशत बालबालिकालाई कोरोना सङ्क्रमण बिरुद्धको ‘फाइजर वायोएनटेक’ खोप लगाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेले असार ९ देखि १७ गतेसम्म जिल्लाका १३ वटै स्थानीय तहमा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाको लागि खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य कार्यालय काभ्रेमा प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले कार्यालयले लिएको लक्ष्यको ८६ प्रतिशत बालबालिकालाई फाइजर वायोएनटेक खोप लगाइएको बताउनुभयो । उहाँले कार्यालयले जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका ४४ हजार ६५६ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा ३८ हजार २२७ बालबालिकालाई खोप लगाइएको बताउनुभयो ।

उहाँले जिल्लाको चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकामा सबैभन्दा कम बालबालिकाले खोप लगाएको बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा चलाइएको खोप अभियानमा जिल्लाको चौरीदेउराली गाउँपालिकामा ९६६, भुम्लु गाउँपालिकामा एक हजार १४४ जना, मण्डनदेउपुर नगरपालिकामा दुई हजार ९३३, बनेपा नगरपालिकामा दश हजार ३१६ जना, धुलिखेल नगरपालिकामा तीन हजार २७० जना बालबालिकामा खोप लगाइएको छ । 

यसैगरि जिल्लाको तेमाल गाउँपालिकामा एक हजार ६६ जना, नमोबुद्ध नगरपालिकामा दुई हजार १०९ जना, पनौती नगरपालिकामा पाँच हजार ४८६ जना, बेथानचोक गाउँपालिकामा एक हजार २८३ जना, रोशी गाउँपालिकामा दुई हजार ४०६ जना, महाभारत गाउँपालिकामा एक हजार ७६४ जना र खानीखोला गाउँपालिकाका एक हजार ६६४ जना बालबालिकालाई कोरोना बिरुद्धको फाइजर वायोएनटेक खोप लगाइएको छ । कार्यालयले खोप अभियान सञ्चालन गरेसँगै जिल्लाका कतिपय स्थानीय तहका विद्यालयमा वर्षे बिदा भएको कारणले केही बालबालिका गाउँबाट शहर गएकोले केही बालबालिका खोप लगाउनबाट छुटेकोले कार्यालयले लिएको लक्ष्य अनुसार खोप नलगाईको हुन सक्ने बताउनुभयो । 

कार्यालयले लिएको लक्ष्य बढी र स्थानीय तहमा रहेका बालबालिकाको सङ्ख्या कम भएकोले केही स्थानीय तहमा खोप लगाउनेको सङ्ख्या कम भएको स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले बताएको डा. सेढाईले बताउनुभयो । उहाँले खोप लगाउन छुटेका बालबालिकालाई समेत समय मिलाएर खोप लगाइने बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु