छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा


मेचीकाली

पनौती– काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले नगरभित्र रहेका विपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ अन्र्तगत नगरपालिकाभित्रका छ सय विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो । पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले आर्थिक अभावका कारण कुनैपनि नागरिकले स्वास्थ्य उपचार सेवाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको बताउनभुयो । उहाँले नगरभित्रका नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरपालिकाको कर्तव्य समेत भएका कारण यस वर्षदेखि बिमा कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

उहाँले बिमा कार्यक्रमले नगरभित्रका विपन्न नागरिकको स्वास्थ्योपचारमा सहजता ल्याउने बताउनुभयो । उहाँले नगरपालिकाले आगामी दिनमा नागरिक, सहकारी संस्था र नगरपालिकाको सहकार्यमा करिब चार हजार परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रम समेत अघि बढाइएको बताउनुभयो । उहाँले नागरिकको ३३ प्रतिशत, नागरिक आवद्द भएको सहकारीको ३३ प्रतिशत र नगरपालिकाको ३४ प्रतिशत लगानीमा स्वास्थ्य बिमा गरिने कार्यक्रमको तयारी भईरहेको बताउनुभयो । 

नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले हालसम्म नगरपालिकाका दश वटा वडाका ४७५ जना विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको बताउनुभयो । उहाँले वडा नम्बर १ का ६८ परिवार, वडा नम्बर ३ का ४९ परिवार, वडा नम्बर ४ का ५४ परिवार, वडा नम्बर ५ का ४६, वडा नम्बर ६ का ३३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । यसैगरी वडा नम्बर ७ का ५५, वडा नम्बर ८ का ४०, वडा नम्बर ९ का ४४, वडा नम्बर १० का ४८ र वडा नम्बर ११ का ३८ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरि विमा वापतको प्रिमियम रकम समेत भुक्तानी गरि सकिएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले बताउनुभयो । 

उहाँले हालसम्म दश वटा वडाका ४७५ परिवारको बिमा प्रिमियम वापतको १६ लाख १० हजार रुपियाँ भुक्तानी गरिसकिएको बताउनुभयो । उहाँले नगरपालिकाको वडा नम्बर २ का ५२ र वडा नम्बर १२ का ४९ विपन्न परिवारको स्वास्थ्य बिमा गर्न बाँकी रहेको र अबको एक सातामा दुवै वडाका नागरिकको बिमा गर्ने काम समेत सम्पन्न हुने बताउनुभयो । पनौती नगरकार्यपालिकाको बैठकले जनसङ्ख्याको आधारमा नगरभित्रका १२ वटा वडाका छ सय विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरी वडाहरुलाई परिवार सङ्ख्या तोक्ने काम गरेको थियो । 

वडा कार्यालयले विपन्न सिफारिस गरेर पठाएपछि नगरपालिकाले निःशुल्क रुपमा स्वास्थ्य बिमा गर्नेछ । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमबाट नगरभित्रका करिब तीन हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ । बिमित नागरिकले फागुन १ गतेबाट धुलिखेल अस्पताल र रेयुकाई एईको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । 


प्रतिक्रिया



थप समाचारहरु