सिटामोल अभावको गुनासोपछि बनेपाका औषधी पसलको अनुगमन (भिडियोसहित)


मेचीकाली

बनेपा–कोरोना भाइरस (कोभिड–१९) महामारीको तेस्रो लहर सुरु भएसँगै बजारमा सिटामोलको अभाव बढेको छ ।

पछिल्ला दिनमा औषधी पसलहरुमा सिटामोल नपाइएको गुनासो आएपछि आज काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.पुरुषोत्तम सेढाई सहितको टोलीले बनेपामा रहेका फार्मेसी र मेडिसिन सप्लायर्सको अनुगमन गरेको छ । अनुगमनको क्रममा साना औषधी पसलमा सिटामोल नरहेको पाइएको छ भने सप्लायर्समा ७५ हजार ट्याब्लेट भन्दा बढी सिटामोल रहेको पाइएको छ । बनेपामा बनेपा मेडि स्टोर, केबी मेडिसिन, युवा मेडी सप्लायर्स लगायतले होलसेलमा औषधीको व्यापार गर्दै आएका छन् । मुख्य सप्लासर्यहरुमध्ये सबैभन्दा बढी बनेपा मेडी स्टोरमा ४५ हजार ट्याब्लेट सिटामोल रहेको पाइएको छ । औषधी पसलबाट माग भएअनुसार सिटामोल पठाइरहेको ती सप्लायर्सले जनाएका छन् ।

अनुगमन टोलीले जनागालमा रहेको क्युरेक्स फर्मास्युटिकल्समा पनि अनुगमन गरेको छ । उक्त कम्पनीले अन्य औषधीका साथै सिटामोल पनि उत्पादन गर्दै आइरहेको छ । कम्पनीले हाल १४÷१५ लाख ट्याब्लेट बनाउने कच्चा पदार्थ रहेको र अर्डर आएअनुसार सिटामोल उत्पादन गरेर पठाउने गरेको जानकारी दिएको छ । 

 बनेपा चारदोबाटोमा रहेको ’औषधि’ पसल मात्रै नाम राखेर दर्ताबिना चलाइएको फार्मेसी तत्काल बन्द गर्न निर्देशन दिइएको छ । उक्त औषधी पसलमा सिएमए अध्ययन गरेकाले औषधी बेच्ने गरेको पनि पाइएको छ । अनुगमन टोलीले औषधी पसल तथा सप्लायर्स दर्ता तथा नवीकरण भए या नभएको पनि हेरेको थियो । 

बनेपामै सञ्चालनमा रहेका दुईवटा अस्पतालमा भने सिटामोल नरहेको भेटिएको छ । बिरामीलाई भर्नासमेत गरेर उपचार गर्दै आएका कृष्ण प्रसाद अस्पताल र तीनदोबाटोमा रहेको बनेपा अस्पतालमा आवश्यक मात्रामा सिटामोल नराखेको देखिएको छ । कृष्णप्रसाद अस्पतालको फार्मेसीमा अनुगमन गर्दा जम्मा ६० ट्याव्लेट सिटामोल रहेको पाइएको थियो ।  



प्रतिक्रिया



थप समाचारहरु