मतदाता बढेसँगै ३१ मतदान केन्द्र थपियो


मेचीकाली

काभ्रे– अघिल्ला निर्वाचनहरुको तुललनामा यस वर्ष हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेका विभिन्न स्थानीय तहहरुमा एकत्तीस वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार बैशाख महिनामा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका एघार वटा गाउँपालिकामा ३१ वटा मतदान केन्द्र थपिएको जनाएको छ । जिल्ला निर्वाचन अधिकृत उमेश राईले पछिल्लो चार वर्षको अवधिमा जिल्लामा एकत्तीस हजार दुई सय मतदाता थपिएसँगै एकत्तीस मतदान केन्द्र समेत थपिएको बताउनुभयो । ‘जिल्लामा अघिल्लो निर्वाचनको तुलनामा एकत्तीस हजार बढी मतदाता थपिएका कारण, जिल्लामा मतदान केन्द्र समेत थप गर्नुपरेको हो’ उहाँले थप्नुभयो ।

उहाँले एउटा मतदान केन्द्रमा एक हजार ६४ जना भन्दा बढी मतदाता भएपछि अर्को मतदान केन्द्र व्यवस्था गर्नुपर्ने भएकोले जिल्लाका एघार स्थानीय तहमा एकत्तीस मतदान केन्द्र थप गरिएको बताउनुभयो । निर्वाचन अधिकृत राईले जिल्लाको नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिकामा मतदान केन्द्र नथपिएको बताउनुभयो । उहाँले यस पटकको स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा सात, पाँचखाल नगरपालिकामा चार, तेमाल गाउँपालिकामा चार, खानीखोला गाउँपालिकामा चार, चौरीदेउराली गाउँपालिकामा एक, धुलिखेल नगरपालिकामा एउटा मतदान केन्द्र थप भएको बताउनुभयो । 

यसैगरी पनौती नगरपालिकामा दुई, बेथानचोक गाउँपालिकामा एक, भुम्लु गाउँपालिकामा तीन, मण्डनदेउपुर नगरपालिकामा दुई र रोशी गाउँपालिकामा दुई वटा मतदान केन्द्र थप भएका छन् । आगामी स्थानीय तहको निर्वाचनको लागि जिल्लाको खानीखोला गाउँपालिकामा १५ वटा, बनेपा नगरपालिकामा ४९ वटा, बेथानचोक गाउँपालिकामा १८ वटा, भुम्लु गाउँपालिकामा २३ वटा, मण्डनदेउपुर नगरपालिकामा ३६ वटा र रोशी गाउँपालिकामा २८ वटा मतदान केन्द्र रहेका थिए । त्यस्तै जिल्लाको चौँरीदेउराली गाउँपालिकामा २४, तेमाल गाउँपालिकामा २७ वटा, धुलिखेल नगरपालिकामा ३४ वटा, पनौती नगरपालिकामा ४४, पाँचखाल नगरपालिकामा ३७ वटा, नमोबुद्ध नगरपालिकामा ३० र महाभारत गाउँपालिकामा १६ वटा मतदान केन्द्र तोकिएको छ । 

यसअघि २०७४ सालको प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचनमा काभ्रेको बनेपा नगरपालिकामा ४२ वटा, बेथानचोकमा १७ वटा, भुम्लु गाउँपालिकामा २० वटा, मण्डनदेउपुरमा ३४ र रोशी गाउँपालिकामा २६ वटा मतदान केन्द्र रहेका थिए  । यस्तै खानीखोलामा ११, महाभारतमा १६ वटा, चौरीदेउरालीमा २३, तेमालमा २३ वटा, धुलिखेलमा ३३ वटा, पनौतीमा ४२ वटा, पाँचखाल नगरपालिकामा ३३ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । आगामी स्थानीय तहको निर्वाचनको लागि जिल्लाका तेह्र वटा स्थानीय तहमा १८९ मतदान स्थल रहने छन् ।


प्रतिक्रिया



थप समाचारहरु