धुलिखेल-काठमाडौं विश्वविद्यालयमा शैक्षिक वर्ष २०२६/२७ का लागि सञ्चालन भइरहेको Kathmandu University Common Admission Test – Computer Based Test (KUCAT-CBT) 2026 मा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
जुलाई २०, २०२६ सम्म ६ हजार ५ सयभन्दा बढी विद्यार्थीले आवेदन दर्ता गरेका छन्, जसले काठमाडौं विश्वविद्यालयप्रतिको विश्वास र गुणस्तरीय उच्च शिक्षाप्रतिको आकर्षणलाई थप उजागर गरेको छ।
हालसम्म प्राप्त आवेदनमध्ये ८४ प्रतिशत आवेदन काठमाडौं विश्वविद्यालय School of Engineering अन्तर्गतका शैक्षिक कार्यक्रमका लागि रहेका छन् भने १६ प्रतिशत आवेदन School of Science का कार्यक्रमका लागि प्राप्त भएका छन्। यसले विशेषगरी इन्जिनियरिङ तथा विज्ञान शिक्षाप्रति विद्यार्थीहरूको बढ्दो रुचि र विश्वासलाई प्रतिबिम्बित गर्दछ।
त्यसैगरी, आवेदन दिने विद्यार्थीमध्ये ३९ प्रतिशतले कम्प्युटर इन्जिनियरिङलाई आफ्नो पहिलो रोजाइ (Initial Choice) का रूपमा छनोट गरेका छन्। सूचना प्रविधि, कृत्रिम बौद्धिकता (AI), डिजिटल रूपान्तरण तथा उदीयमान प्रविधिप्रति युवापुस्ताको आकर्षण निरन्तर बढिरहेको सन्दर्भमा यो तथ्यांकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कम्प्युटरमा आधारित (Computer-Based Test) प्रणालीमार्फत सञ्चालन भइरहेको KUCAT-CBT 2026 परीक्षा निर्धारित कार्यतालिकाअनुसार व्यवस्थित रूपमा अघि बढिरहेको छ। जुलाई २० सम्म ३७ प्रतिशत विद्यार्थीले आफ्नो प्रवेश परीक्षा सम्पन्न गरिसकेका छन्।
यस वर्षको प्रवेश परीक्षा विराटनगर, वीरगञ्ज, धुलिखेल, ललितपुर, पोखरा र मणिग्राम गरी देशका ६ वटा शहरमा सञ्चालन भइरहेको छ। विभिन्न प्रदेशका विद्यार्थीलाई सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले परीक्षा केन्द्रहरूको विस्तार गरिएको हो।
काठमाडौं विश्वविद्यालयका अनुसार KUCAT-CBT 2026 परीक्षा जुलाई २६, २०२६ सम्म सञ्चालन हुनेछ। त्यसपछि विश्वविद्यालयको पूर्वनिर्धारित कार्यतालिकाअनुसार नतिजा प्रकाशन तथा भर्ना प्रक्रिया अगाडि बढाइनेछ।
"Quality Education for Leadership" भन्ने आफ्नो मूल मन्त्रलाई आत्मसात गर्दै आएको काठमाडौं विश्वविद्यालयले विद्यार्थीलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी नेतृत्व क्षमता, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वसहितको सक्षम जनशक्ति उत्पादनमा निरन्तर जोड दिँदै आएको छ। KUCAT-CBT 2026 मा देखिएको उत्साहजनक सहभागिताले विश्वविद्यालयप्रतिको विश्वास, शैक्षिक उत्कृष्टता र विश्वस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वविद्यालयको विश्वास छ। गुणस्तरीय उच्च शिक्षामा पहुँच विस्तार गर्दै भविष्यका सक्षम नेतृत्वकर्ता उत्पादन गर्ने आफ्नो अभियानलाई काठमाडौं विश्वविद्यालयले निरन्तर अघि बढाइरहेको छ।