काभ्रे क्षेत्र नंवर १ माओवादीलाई छाड्न कांग्रेस तयार, के गर्लान् तीर्थले ?


मेचीकाली

बनेपा–मंसिर ४ गते हुने निर्वाचनका लागि काभ्रेमा प्रतिनिधिसभा तर्फको सिट बाँडफाँडमा सत्ता गठवन्धनमा लगभग सहमति जुटेको छ । 

काभ्रेमा प्रतिनिधिसभातर्फ दुईवटा क्षेत्र रहेका छन् । त्यसमध्ये क्षेत्र नंवर १ नेकपा माओवादी केन्द्रलाई छाड्न नेपाली कांग्रेस तयार भएको छ । अघिल्लो चुनावमा यो क्षेत्रबाट तत्कालिन एमाले–माओवादी गठवन्धनबाट गंगावहादुर दोङ निर्वाचित भएका थिए । उनले हाल नेपाली कांग्रेसका जिल्ला सभापति रहेका तीर्थ लामालाई पराजित गरेका थिए । लामा अहिले सर्वसम्मतरुपमा नेपाली कांग्रेसबाट यो क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । अब माओवादीले यो क्षेत्र पाउने भएपछि कांग्रेस जिल्ला सभापति लामा समानुपातिकमा बस्छन् या केन्द्रीयस्तरमा भएको भागवण्डाविपरित प्रत्यक्षमै उठ्छन् भन्ने टुंगो लागेको छैन । 

यो क्षेत्रमा माओवादीले सभामुख अग्नि सापकोटालाई उठाउने चर्चासमेत चलेको थियो । तर, सिन्धुपाल्चोक क्षेत्र नं १ पनि माओवादीले पाउने भएपछि अब माओवादीले यहाँ कसलाई उम्मेदवार बनाउँछ भन्ने चासोको विषय बनेको छ । पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान दोङ लालध्वज, अहिलेका सांसद गंगावहादुर दोङ लगायतका नेता आकांक्षी छन् ।

यता काभ्रे क्षेत्र नं. २ नेपाली कांग्रेसले पाउने निश्चित भएपछि उम्मेदवार को होला भन्ने चासो पनि बढेको छ । कांग्रेसमा शिवप्रसाद हुमागाईं र मधु आचार्यमध्ये एकजनाले टिकट पाउने चर्चा यसअघि नै चलेको छ । नेकपा एमालेबाट भने यो क्षेत्रमा अहिलेका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा सर्वसम्मत सिफारिस भइसकेकाले उनी नै चुनावमा उठ्ने निश्चित नै छ । 


प्रतिक्रिया



थप समाचारहरु