नमोबुद्धको बजेट सर्वसम्मतिले पारित


मेचीकाली

भकुण्डेबेशी–आगामी आर्थिक बर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै नमोबुद्ध नगरपालिकाको नगरसभा सकिएको छ । 

नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा आज सोमबार बसेको नगरसभाको पहिलो अधिवेशनको दोस्रो बैठकले नगर प्रमुख लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो । बैठकमा उपप्रमुख रत्न लामाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम (बजेट वक्तव्य), २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । असार १० गते बसेको पहिलो बैठकमा लामाले ७४ करोड ४८ लाख ४५ हजार ९ सय २७ रुपैयाँको अनुमानित आय व्यय विवरण (बजेट) पेश गरेका थिए । उक्त बजेटमा केही संशोधनसहित दोस्रो बैठकबाट सर्वसम्मत पारित भएको नगरपालिकाका प्रवक्ता टिकावहादुर केसीले जानकारी दिए । 

नगरसभाले नमोबुद्ध नगरपालिकाको युवा परिषद ऐन २०७७ माथिको संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । उक्त प्रस्ताव विधायन समितिका संयोजकसमेत रहेका वडा नं. ६ का वडाअध्यक्ष टिकावहादुर केसीले  प्रस्तुत गरेका थिए ।  यस्तै केसीले नै प्रस्तुत गरेको विनियोजन विधेयक, २०७९ तथा सार्वजनिक लेखा समितिका संयोजक तथा वडा नं. ११ का अध्यक्ष कृष्ण बहादुर तामाङले पेश गरेकोे नमोबुद्ध नगरपालिकाको आर्थिक विधेयक, २०७९ पनि पारित भएको छ । 

नगरसभाको बैठकमा वडा नं. ४ का अध्यक्ष अर्जुनवहादुर कार्की, कार्यपालिका सदस्य सुशिला परियार र वडा सदस्य रुपा प्याकुरेलले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । नगरसभाले नगर कार्यपालिकाको २०७९ जेठ १९ गते देखि २०७९ असार २६ सम्मको बैठकबाट भएका निर्णयहरु, न्यायिक समितिका निर्णयहरु एवं आर्थिक तथा प्रशासनिक निर्णयहरु साथै केहि विशेष निर्णयहरु अनुमोदन गरेको छ । यस्तै स्थानीय सरकारको रुपमा स्थापित नमोबुद्ध नगरपालिकाको आर्थिक समृद्धि र स्थानीय स्तरमा लोकतन्त्रको अभ्यासमा सकारात्मक सहयोग गर्ने  सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, प्रदेश सरकार, संघीय सरकार लगायतमा भष्ट्राचारमुक्त समृद्ध नमोबुद्ध नगरपालिका निर्माणमा निरन्तर सहयोग गर्ने सबैमा धन्यवाद दिने प्रस्ताव पनि बैठकले पारित गरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु