आचारसंहिताको पूर्ण पालना गर्न मुख्य निर्वाचन अधिकृत भट्टराईको आग्रह


मेचीकाली

भकुण्डेबेशी–काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । 

स्थानीय तह निर्वाचनका लागि नमोबुद्ध नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा संवोधन गर्दै विगतका निर्वाचनको तुलनामा यसपटकको चुनावमा आचारसंहितामा कडाई गरिएको भन्दै दलहरुले पूर्ण पालना गर्ने विश्वास समेत व्यक्त गरे । ‘आचारसंहिता उल्लंघनमा हामीले कुनै प्रश्न गर्ने अवस्था नआओस्,’ भट्टराईले भने, सबै दलले अनुशासित बनेर सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ आफूहरुको काम सफलतापूर्वक चुनाव सम्पन्न गराउन रेफ्रीको भूमिका मात्रै निर्वाह गर्ने भन्दै उनले शान्तिपूर्णरुपमा चुनाव सम्पन्न गराउन मुख्य भूमिका दलहरुकै रहने बताए । 

स्थानीय तह आएपछि धेरै काम भएको र विगतका तुलनामा चुनाव सम्पन्न गराउन सहज अवस्था सिर्जना भएको भट्टराईको भनाई थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका निर्वाचन अधिकृत बिष्णुप्रसाद ज्ञवालीले सबै राजनीतिक दलको सक्रिय सहभागिता, समन्वय र सहयोगबाट शान्तिपूर्णरुपमा चुनाव सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले निर्वाचन अधिकृतको कार्यालयलाई नगरपालिकाबाट आवश्यक सहयोग र समन्वय हुने प्रतिवद्धता जनाए ।

नमोबुद्ध नगरपालिकाको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराई र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नमोबुद्धका सहायक निर्वाचन अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया



थप समाचारहरु