आश्रम सुनसान पारेर कता हराए रामबहादुर बम्जन ?


मेचीकाली

सिन्धुली - सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेको कथित तपस्वी रामबहादुर बम्जन हराएसँगै उनको आश्रम सुनसान बनेको छ ।

हत्या, अपहरण र बन्धक जस्ता विभिन्न आरोप मुद्दामा नेपाल प्रहरीको मोस्ट वाण्टेट सूचीमा रहेका बम्जन केही महिना यता आश्रमबाट अन्यत्रै गएको उनका अनुयायीहरुले बताएका छन् । उनी हराएसँगै सिन्धुलीको कमलामाई नगरपालिका–५ को पहिरेमा रहेको उनको आश्रममा रेखदेख र सरसफाईको काम गर्ने केही अनुयायीहरु मात्र रहेका छन् ।

बम्जनले कब्जा गरेको १५ रोपनी क्षेत्रफलमा जीम हलदेखि स्वीमिङ पुल र सुविधा सम्पन्न बंगला आश्रम निर्माण गरी कम्पाउन्डमा सुरक्षा फौजकै शैलीमा सेन्ट्री तैनाथ गरेर बसेका थिए । बम्जनमाथि पाँच जना युवायुवतीहरुलाई बेपत्ता पारेको समेत अभियोग छ । सुरुमा बारा जिल्लाको हलखोरिया जंगलमा लामो समयसम्म तपस्यामा बसेका बम्जनको तपस्या अवलोकन गर्न विदेशीहरु समेत आउने गरेका थिए ।

को हुन् रामबहादुर बम्जन ?

मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले। १६ वर्षीय बमजनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। सेतो रङको पातलो कपडा लगाएका उनको शरीर स्थिर थियो। आँखा बन्द थियो। र उनी ध्यानमा लीन थिए। त्यसअघि कसैले नचिन्ने किशोर एकाएक विश्वप्रसिद्ध बन्न पुगे।

सुरुमा आसपासका स्थानीयबासी उनलाई हेर्न बाराको बनमा गए। त्यसपछि अन्य देशका तीर्थयात्री पनि आउन थाले। उनी बनमा ध्यानमा बसेको एउटा तस्बिर सोही वर्ष 'भाइरल'हुन गयो। उक्त तस्बिरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यान खिच्न सफल भयो।

बमजन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारी अनुसार उनको जन्म सन् १९९०को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो। उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका ५ छोरा र ४ छोरी छन्। रामबहादुर तेस्रो छोरा हुन्।

"उनी गर्भमा हुँदा उनकी आमालाई माछा मासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घर बाहिर जाने गर्दथे।" उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।

सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन ६ महिनासम्म पानी समेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदा सम्म उनी ध्यानमै रहने बताएका थिए। उक्त विवरणका अनुसार गौतम बुद्धको आमाको नाम मायादेवीसँग मिल्न गएको बमजनको आमाको नामका कारण पनि स्थानीयहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।

त्यसो त तपस्या सुरु गर्नु अघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबली नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पारिवारिक श्रोतहरूले बताउने गरेका छन्। तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो। १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए।

तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको जानकारहरू बताउँछन्। अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई लुङ्ता छोर्तेन जस्ता धार्मिक ध्वजा-पताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।

नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे। देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिकरूपमा बढाउँदै लगे। त्यसै कारण उनले "भित्रभित्रै असीमित शक्ति" आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणहरूमा उल्लेख छ।

स्रोत : बिबिसी नेपाली सेवा र इमेज खबर

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग