रोशीमा गठवन्धनले उडायो आचारसंहिताको धज्जी, मुकदर्शक निर्वाचन अधिकृत


मेचीकाली

रोशी– काभ्रेको रोशी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको चुनावी गठवन्धनले निर्वाचन आचारसंहिताको धज्जी उडाएको छ । 

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै रोशीमा कांग्रेस र माओवादीका उम्मेदवारहरुले सार्वजनिकस्थलमा फ्लेक्स र पर्चा तथा तोरणसमेत राखेका छन् । गाउँपालिकाको १ देखि १२ वटै वडासम्म सार्वजनिक स्थलमा फ्लेक्स, पर्चा राखिएको छ । यतिमात्र होइन मन्दिरमा समेत उम्मेदवारको पर्चा टाँसिएको छ । 

निर्वाचन आचारसंहितामा उम्मेदवारले आफ्नो कार्यालयमा ३ ३ साइजको दलको झण्डा र चुनाव चिन्हबाहेक फ्लेक्स पर्चा, बोर्ड आदि राखेर प्रचारप्रसार गर्न नहुने उल्लेख छ । कार्यालयबाहेकका स्थलमा कुनै पनि प्रचार सामग्री राख्न नपाइने व्यवस्थालाई गठवन्धनका उम्मेदवारहरुले उल्लंघन गरेका छन् । रोशीमा नेकपा एमालेविरुद्ध कांग्रेस र माओवादीको गठवन्धन चुनावमा उत्रिएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसबाट दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रका मिमवहादुर वाइवा प्रतिस्पर्धामा छन् । सबैजसो वडामा उनीहरुको मात्र होइन कांग्रेस र माओवादीबाट वडा अध्यक्ष तथा वडा सदस्य बनेका उम्मेदवारहरुको समेत पर्चा र फ्लेक्स टासिएका छन् । यस्तै तोरणसमेत बनाउन नपाइने व्यवस्थालाई उल्लंघन गर्दै विभिन्न स्थानमा तोरणहरु टासिएका छन् । 

नेकपा एमालेको तर्फबाट रोशी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार देवसागर लामाले गाउँपालिकाका सबै वडामा गठवन्धनको तर्फबाट आचारसंहिता उल्लंघन गरिएको तर निर्वाचन अधिकृतको कार्यालयले बेवास्ता गरेको बताए । आफूहरुले पटकपटक कार्यालयमा जानकारी गराउँदा निर्वाचन अधिकृतले हटाउन लगाउनछु भनेको र त्यसमा कुनै पहल नगरेको लामाको आरोप छ । गाउँपालिका कार्यालय आसपास नै आचारसंहिताविपरित चुनावी प्रचार सामग्री राखेको पाइएको उनले बताए । 

रोशी गाउँपालिकाका निर्वाचन अधिकृत सुर्यप्रसाद गौतमले आफूहरुलाई आचारसंहिता उल्लंघनबारे मौखिक जानकारी आएपछि पार्टीका प्रतिनिधिलाई बोलाएर प्रचार सामग्री हटाउन भनेको बताए । तर पनि किन हटेन भन्ने हाम्रो प्रश्नमा गौतमले हामीले भनेकै छौं भन्दै हल्का जवाफ दिए । 

हामी हटाउन  लगाउँछौं : प्रजिअ पाण्डे

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रोशीमा आचारसंहिता उल्लंघन भएको भन्ने जानकारी आएको र रोशीका निर्वाचन अधिकृतलाई आचारसंहिताविपरित राखिएका प्रचार सामग्री हटाउन भनेको बताइन् । आज रोशीमा अनुगमनका लागि जान लागेको बताउँदै पाण्डेले ती प्रचार सामग्री हटाउन लगाउने पनि बताएकी छन् ।



भिडियो


प्रतिक्रिया



थप समाचारहरु