एमाले मण्डनदेउपुरको घोषणापत्र : वडाका प्रमुख सडक कालोपत्रे, विपन्न परिवारको खानेपानी महसुल मिनाहा


मेचीकाली

मण्डनदेउपुर–  कुन्ताबेशी– स्थानीय तह निर्वाचनको माहोल बढ्दै गर्दा नेकपा एमाले मण्डनदेउपुर नगर कमिटिले स्थानीय तह निर्वाचनको आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमालेबाट मण्डनदेउपुरको नगर प्रमुख पदका उम्मेदवार बिदुर सापकोटा, उपप्रमुखका उम्मेदवार सरिता ढकाल, एमाले मण्डनदेउपुर नगर कमिटि अध्यक्ष शेरबहादुर डोटेललगायतका विभिन्न पदका उम्मेदवारले मङ्गबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै एमालेका उम्मेदवारहरुले स्थानीय तहको निर्वाचनमा आफुहरु विजयी भएको खण्डमा पाँच वर्षको अवधिमा नगरभित्रका नगर भित्रका वडाका प्रमुख सडकलाई कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसैगरी एमाले मण्डनदेउपुर नगर कमिटिले आफ्ना उम्मेदवार विजयी भएमा नगर चक्रपथ निर्माण गर्ने, प्रत्येक टोललाई स्तरोन्नती गरिएको सडक सञ्जालमा जोड्ने, वैकल्पिक सडक, नदी नियन्त्रण र कृषि योग्य जमिनमा यातायात पहुँचका लागि चाखोला करिडोर सडक निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी कृषि तथा पशुपालनतर्फ प्रत्येक वडामा पशु स्वास्थ्य  तथा कृषि उत्पादन सेवा केन्द्र संचालन गर्ने, एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषी उत्पादन केन्द्रको अवधारणालाई अगाडि वढाउने, लक्षित समुदाय र पकेट क्षेत्रका कृषकहरुकालागि उत्पादन परिमाण अनुसारको अनुदान तथा सहुलियत ऋणको कार्यक्रम लागु गर्ने तथा सम्पूर्ण खेतीयोग्य जमिनमा आधुनिक प्रविधियुक्त सिंचाई सुबिधा सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ ।

 मण्डनदेउपुर नगरपालिकामा उठेका एमालेका उम्मेदवारहरुले नगरपालिकाभित्र पर्ने नगरकोटलाई मुलुककै आन्तरिक र बाह्य पर्यटकको केन्द्र बनाउन पूर्वाधार विकासमा लगानी गर्ने, गुरुङ, तामाङ, मगर, दनुवार र माझी जातिको सांस्कृतिक इतिहासको संरक्षणको लागि आदिवासी सङ्ग्रहालय स्थापना गर्ने, नगरकोट र सुलिकोट थामडाडाँ केन्द्रित लामा छोटा पर्यटक पदमार्ग निर्माण गर्ने, स्थानीय युवा जनशक्तिलाई पर्यटक सेवासंग सम्बन्धित ज्ञान, सीप र कार्यक्षमता प्रदान गर्न पर्यटन शिक्षालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तैगरि होेम स्टे स्थापना गर्न सीप, प्रविधि र बजारीकरणमा लगानी अभिवृद्धि गर्ने, पुरातात्विक सम्पदाहरू मन्दिर, पाटिपौवा  र गुम्बा निर्माण, पुनःनिर्माण, प्रवद्र्धन र संरक्षण गर्ने, रक क्लाइम्ब, जिपलाइन, पार्क जस्ता पूर्वाधार निर्माण गरि पर्यटन प्रवर्धन गर्ने तथा नगर पर्यटन बोर्ड गठन गरि पर्यटन बिकाशका लागि अन्तर्राष्ट्रिय लगानी, बजार प्रवर्धन तथा स्थानीय जन–संस्कृति संरक्षणको कार्यक्रमका लागि परिचालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । 

शिक्षातर्फ सम्वृद्ध नेपाल ः सुखी नेपालीको नारालाई आत्मसात गर्दे कम्प्युटर, इन्टरनेट सहितको प्रविधियुक्त सामुदायिक शिक्षालयको गुणस्तरमा सुधार, स्थानीय भाषा, संस्कृतिको प्रवद्र्धन गर्ने, काठमाडौँ विश्वविद्यालय लगायत नेपालका उन्नत शैक्षिक संस्थाहरु संग नगरपालिकाले सहकार्य गरि बिशेष प्रविधि शिक्षामा नगरपालिका भित्रका जेहन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्यतर्फ महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि विशेष संरचना निर्माणका साथै स्वास्थ्य हेरचाह कार्यक्रम लागु गरी स्वास्थ्यकर्मीको मोवाइल टोलि परिचालन गर्ने, सहज पहँुँच सहितको निःशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ सेवा उपलब्ध गराउन  प्रत्येक वार्डका स्वास्थ्य संस्थाहरूको सवलीकरण गरि सुरिक्षित मातृत्व सेवा संचालनका लागि जनशक्ति र पूर्वाधार सुनिश्चित गर्ने जनाएको छ ।  

खोपानी तथा सरसफाईतर्फ मण्डनदेउपुर बृहत खानेपानी योजना लगायतका कार्यक्रम सम्पन्न गरेर एक घर एक धारा कार्यक्रममार्फत् स्वच्छ पिउने पानीको सहज उपलब्ध गराउने तथा अति बिपन्न परिवारका लागि पिउने पानिको महशुल मिनाहा गर्ने प्रतिवद्धता जनाइएको छ । त्यस्तैगरी सामाजिक सुरक्षा र सामाजिक विकास, युवा खेलकुद र रोजगार, शहरी संरचना र औद्योगिक बिकास, सामुदायिक वन , वातावरण र सहकारी, प्रकोप जोखिम न्यूनीकरण ः पर्याप्त आवास, भूकम्पपछिको पुनर्निर्माण, लैङ्गिक समानता ः अवसरमा समावेशिता, संचार तथा सुचना प्रविधि, सुशासन तथा संस्थागत विकास लगायतका विषयहरूलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु