काभ्रेमा बढ्दैछन् नसर्ने रोगका बिरामी


मेचीकाली

काभ्रे– शहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नहुँदा पछिल्लो समय देशभर नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने रोगमध्ये उच्च रक्तचाप पहिलो सूचिमा परेको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार एक वर्षको अवधिमा जिल्लामा उच्च रक्तचापका १४ हजार ४२० बिरामीको उपचार भएको छ । 

कार्यालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्क अनुसार जिल्लामा नसर्ने रोगहरुमध्ये उच्च रक्तचाप रोगका बिरामीको सङ्ख्या बढी रहेको बताउनुभयो । उहाँले दोस्रो सूचिमा दिर्घ स्वासप्रश्वासका बिरामी रहेका छन् । पछिल्लो एक वर्षमा जिल्ला दिर्घ स्वासप्रश्वासका छ हजार ७९१ जना बिरामीको उपचार भएको छ । यसैगरि नसर्ने रोग अन्र्तगतको अन्य मुटु रोगसँग सम्बन्धितका पाँच हजार ८० बिरामी, मधुमेहका दुई हजार ६५९ जना बिरामी, एन्जाइटि (चिन्ता÷डर) का एक हजार २२२, डिप्रेशन (दिग्दारी) का ७९६, दिर्घ मादक पदार्थ÷ड्रग्स सेवनका ५७३ बिरामीको उपचार भएको छ । यसैगरि जिल्लामा मुटुको बाथ रोगका ४१० जना, मानसिक रोगसँग सम्बन्धित न्यूरोसिसका २७७ जना, मानसिक असन्तुलनका २६६ जना, कडा खालको मानसिक रोगका २१३ जनाको उपचार भएको छ । 

स्वास्थ्य कार्यालयका बरिष्ठ स्वाथ्य प्रशासक डा. सेढाईका अनुसार एक वर्षको अवधिमा जिल्लामा मुटु सम्बन्धीका विभिन्न रोगका २६ हजार २५७ जना र मानसिक रोगसँग सम्बन्धित विभिन्न रोगका तीन हजार ९८३ बिरामीको उपचार भएको छ । उहाँले जिल्लाका सञ्चालित विभिन्न अस्पताल तथा नीजि स्वास्थ्य संस्थामा उपचार गरेका सबै बिरामीको तथ्याङ्क स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट नभएको हुन सक्ने भएकोले जिल्ला बाहिर तथा जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या प्रणालीमा नआएको हुन सक्ने बताउनुभयो । उहाँले नसर्ने रोगका बिरामीमा हालसम्म पनि मुटु रोगसँग सम्बन्धित बिरामीलाई हेरेर नसर्ने रोग अन्र्तगत मुटु रोगका बिरामी बढेको बताइएपनि पछिल्लो समय जिल्लामा मानसिक रोगीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको बताउनुभयो ।

उहाँले अस्वस्थकर खानपान, शहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सूर्तिजन्य तथा मरिदजान्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनुभयो । कार्यालयले जिल्लाका सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि नसर्ने रोगको आधारभूत तालिम (पेन प्याकेज) सञ्चालन गरेको जनाएको छ । कार्यालयले हालसम्म करिब एक सय स्वास्थ्यकर्मीलाई नसर्ने रोगको आधारभूत तालिम प्रदान गरिसकेको र बाँकी अन्य स्वास्थ्यकर्मीहरुलाई पनि चरणबद्ध रुपमा तालिम सञ्चालन गरिने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन, नोराद नामक गैह्र सरकारी संस्था, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतको सहयोगमा तालिम सञ्चालन भएको हो । जिल्लामा रहेका स्वास्थ्य संस्थामा स्तर अनुसारको नसर्ने रोगको औषधिको उपलब्धता, रगत जाँच, पिसाब परीक्षण, मधुमेह, प्रोटिन जाँच गराउने उपकरण उपलब्ध गराइएको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु