महामारीजन्य रोगबारे सरोकारवालाबीच अन्तर्क्रिया


मेचीकाली

पनौती– पनौती नगरपालिकाको आयोजनामा महामारीजन्य रोगबारे सरोकारवालाहरुबीचको अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । 

पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको आयोजनामा भएको कार्यक्रममा कुखुरा लगायतका पन्छीमा लाग्ने रोग, पन्छीबाट मानिसमा सर्नसक्ने रोग र यसको रोकथाम एवं नियन्त्रणमा सरोकारवालाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भएको थियो । कार्यक्रम पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यता एवं कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विज्ञहरुको तर्फबाट कब नेपालका टेक्निकल अफेयर्स प्रमुख डाक्टर सुदिप हुमागाईंले कुखुरा लगायतका पन्छीमा लाग्ने रोगहरु, यसबाट मानिसको स्वास्थ्यमा पर्नसक्ने प्रभाव, विगतमा रोग नियन्त्रण एवं रोकथामका लागि भएका प्रयास र अव गर्नुपर्ने प्रयास लगायतका विषयमा प्रस्तुतिकरण दिएका थिए । 

यस्तै नगरपालिकाको कृषि तथा पशुपन्छी शाखा प्रमुख पशु चिकित्सक मणिप्रसाद सापकोटाले पन्छीजन्य रोगको रोकथाम एवं नियन्त्रणमा नेपालमा भएका कानुनी व्यवस्था, सरोकारवालाहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख भीम न्यौपानेले कृषि र पशुपालनको क्षेत्रमा अग्रस्थानमा रहेको पनौती नगरपालिकामा बर्डफ्लु लगायतका रोगहरु भित्रन नदिन सबै सरोकारवालाहरुसँग सहकार्य गरेर उच्च सतर्कता अपनाइने बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, पोल्ट्री व्यवसायी मञ्च नेपालका सल्लाहकार एवं पत्रकार मधुसुदुन गुरागाईंले कार्यक्रमको औचित्य, सरोकारवालाहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा पत्रकार, किसान, पशुपन्छी प्राविधिक, व्यवसायी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । 



प्रतिक्रिया



थप समाचारहरु