त्रियासी प्रतिशत नीजि आवास पुननिर्माण


मेचीकाली

काभ्रे– विनाशकारी भुकम्प गएको छ वर्ष आठ महिना पुरा हुँदा काभ्रेमा भुकम्पबाट क्षति भई लाभग्राहीको सूचिमा समावेश भएका ८३ प्रतिशत लाभग्राहीले मात्रै नीजि आवास पुननिर्माण गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन तथा आवास) का अनुसार भुकम्पबाट नीजि आवासमा क्षति पुगी घर निर्माणको लागि सम्झौता गरेका ७९ हजार ४४० लाभग्राहीमध्ये हालसम्म ६५ हजार ८७६ जनाले मात्रै नीजि आवास पुननिर्माण गरेका हुन् ।

ईकाइ प्रमुख ई. सन्तोष निरौलाले हालसम्म पहिलो किस्ता वापतको ५० हजार रुपियाँ लिएकामध्ये ८७ दशमलव ३६ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो र ८३ प्रतिशत लाभग्राहीले घर पुननिर्माण सकेर तेस्रो किस्ताको रकम लिएको बताउनुभयो । उहाँका अनुसार पहिलो किस्ता रकम लिएकामध्ये ७७ हजार १५२ लाभग्राहीले नेपाल सरकार र दुई हजार २८८ जनाले विभिन्न गैह्र सरकारी संस्थामार्फत, दोस्रो किस्ता नेपाल सरकारमार्फत ६६ हजार ४७८ लाभग्राहीले रकम बुझेका छन् भने दुई हजार ८८१ जनाले गैह्र सरकारी संस्थामार्फत रकम लिएको बताउनुभयो । 

यसैगरी तेस्रो किस्ता रकम लिनेमा ६३ हजार ४७५ लाभग्राहीले नेपाल सरकार र दुई हजार ४०१ जनाले गैह्र सरकारी संस्थामार्फत रकम लिएका हुन् । ई. निरौलाले जोखिम वर्गमा रही लाभग्राहीको सूचिमा परी अनुदान रकम पाउन योग्य भएका २४६ जनामध्ये हालसम्म ७१ जनालाई अनुदान रकम प्रदान गरिएको बताउनुभयो । उहाँले गत साउनमहिना यता अनुदान रकम नपाएका लाभग्राहीलाई हालै मात्रै अनुदान रकम उपलब्ध गराएको बताउनुभयो । उहाँले २९ लाभग्राहीलाई पहिलो किस्ता वापतको १४ लाख ५० हजार, ५३२ लाभग्राहीलाई दोस्रो किस्ता वापतको सात करोड ९८ लाख र एक हजार ७०२ लाभग्राहीलाई तेस्रो किस्ता वापतको १७ करोड २ लाख रुपियाँ रकम उपलब्ध गराइएको बताउनुभयो । 

उहाँले हालसम्म जिल्लाको सबैभन्दा बढी भुम्लु गाउँपालिकामा नीजि आवास पुननिर्माण भएको बताउनुभयो । उहाँले उक्त पालिकाका छ हजार २६१ लाभग्राहीमध्ये ९३ प्रतिशत अर्थात् पाँच हजार ५६९ लाभग्राहीले नीजि आवास निर्माण गरेका छन् । उहाँले सरकारले पुननिर्माणको काम चैत २६ गतेसम्मको लागि प्रस्ताव गरे अनुसार २५ जना प्राविधिकलाई गाउँगाउँमा प्राविधिक खटाइएको बताउनुभयो । ईकाइका अनुसार जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा कम ७१ दशमलव ६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण गरेका छन् । सात हजार २०९ लाभग्राहीमध्ये चार हजार ७६८ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम लिएका छन् । 

यसैगरी जिल्लाको बेथानचोक गाउँपालिकामा तीन हजार ३४०, चौरीदेउराली गाउँपालिकामा पाँच हजार ४८२, धुलिखेल नगरपालिकामा चार हजार ३६२, खानीखोला गाउँपालिकामा दुई हजार ५२२, महाभारत गाउँपालिकामा दुई हजार ७१९ लाभग्राहीले नीजि आवास पुननिर्माण गरेका छन् । त्यसैगरी मण्डनदेउपुर नगरपालिकामा आठ हजार ५९, नमोबुद्ध नगरपालिकामा पाँच हजार ३५९, पाँचखाल नगरपालिकामा आठ हजार १६८, पनौती नगरपालिकामा छ हजार ५४८, रोशी गाउँपालिकामा पाँच हजार ५० र तेमाल गाउँपालिकामा तीन हजार ९३१ लाभग्राहीले तेस्रो किस्ताको रकम लिएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु