धुलिखेल- नेकपा एमाले काभ्रेको दशौं अधिवेशन अन्तर्गत उपाध्यक्ष, सचिव, उपसचिव र जिल्ला कमिटी सदस्य चयनका लागि मतदान सुरु भएको छ ।
आज बिहान ७ बजे सुरु हुने भनिएको मतदान बिहान ९ बजेमात्रै सुरु भएको हो । एमाले काभ्रेको अध्यक्षमा अशोक व्यान्जु सर्वसम्मत निर्वाचित भइसकेका छन् । उपाध्यक्षमा चन्द्र लामा, कन्चन अधिकारी र हरिशरण दाहालबीच प्रतिस्पर्धा भइरहेको छ भने सचिवमा राजन भुर्तेल र इन्द्र तामाङ मैदानमा उत्रिएका छन। दुइमध्ये एकजना उपसचिवमा रिता ढकाल सर्वसम्मत निर्वाचित भइसकेकी छन् भने एक उपसचिवका लागि ५ जना प्रतिस्पर्धामा छन् ।
जिल्ला कमिटी सदस्यका लागि खुलातर्फ मात्रै ७० जना प्रतिस्पर्धामा छन् । करिव आठदेखि दस घन्टामा मतदान सकिनेछ भने आजै परिणाम आउनेछ । एमाले काभ्रेले पहिलोपटक विद्युतीय मेसिनबाट मतदान गराइरहेको छ ।